Sunday, December 18, 2016

कथाः "परिक्षणा"

                                                                                                            लेखकः ई. नवराज पराजुली
बरु आफ्नै भुमी प्यारो थियो मलाई। राम्रो सँग पढेर राम्रो जागिर गरेर बाबुअामा, आफन्तको ओठको मुस्कान लिएर भगवानकहाँ धितो राखेको खुशी फर्काउन नसक्ने भए बा को मृत्युपछि। सानै उमेरले पैसा चिन्न सुरु गर्यो। १६ बर्ष, कक्षा ९। सुर गरे बिदेश जाने, पासपोर्ट बनाउन भनेर रोइकराइ गरे आमासँग। डेढदिन खाना नखाएपछी आमा राजी भइन्। पलपल गन्दै ५४ रातपछि पासपोर्ट हात पर्यो। "सहर जान्च रे बिदेश जानलाई" हाम्रा पुराना मास्टरसायप सँग आमाले कुरा गर्दै थिइन्। " केटोको सानैमा बुद्धि पलाएच।" मास्टर ब्लास्टर भएर भने। ठूलै आड दिए मास्टरले। आमाले सुटुक्क सोधिन्। "कति पैसो दिनपर्च यसलाई? कति लाग्ला?" " २ लाखले त अम्रिका पुग्चन मान्छे" मासटर बोले। आमाले रिनको कुरा गरिन् र तुरुन्तै मेरो यात्राको बाटो बनाइदिइन्। अर्को दिन बिहानै शहरतिर लागे।
"कत्राकत्रा घर। अहो! यो बाटो, शहर भनेको शहरै हुनिरैच।" मनले वोले। अव टेन्सन थियो कसरी बिदेस जाने भनेर। दिनभर घुमे, सोधे, कसैले थाहा छ भनेनन् कुनै म्यानपावर। त्यो रात नजिकैको एउटा होेटेलमा बिताउने निधो गरे, होटल ठूलै थियो। एकमनले भन्थ्यो " बिचार गर केटा, बिदेश गाको गई होलास् एसरी खर्च गरेसी" अर्को मनले भन्थ्यो," सुखले सुत्। बिदेश त आफ्नै हो, गइहालिन्च नि।" होटलमा छिरे, "कोठा पाइन्च र काका?" काउन्टरमा बसेका बुढामान्छेलाई सोधे। एकैछिन् ट्वाल्ल परेर हेरेसी एउटा मै सरहको केटोलाई हुकुम दिए," जा कोठा देखाइदे।" पैसाको कुरै गरिन, निंद्रामा थिए, केटोले कोठा देखाइदियो, म एकैपटकमा राजी भई खानाको अर्डर दिए, खाना पनि आयो, खाएर सुत्नतर्फ लागे।
विहान उठे। नुहाए।ब्राह्मणको छोरो नभएनी धर्मकर्ममा सार्है मन जान्थ्यो। झोलाबाट पूजाको सामग्री निकालेर भजन गाउदै घन्टी बजाउन थाले। बुढामान्छे तुरुन्तै आएर " बाबु अरुलाई डिस्ट्रब हुन्छ, घन्टी नवजाइ पूजा गर।" भनेर भने। त्यसपछि देउतासँग माफी मांगी पूजा सकाए। पूजा सकेपछि चिया पिउनुपर्यो भनेर बाहिर निस्किन खोजे, ढोका खोल्दा ती बुढामान्छे हातमा चिया लिएर आएका रैछन्। "भित्र आउँ बाबु?" उनले भने। मैले अचम्म मान्दै आउन भने। सानो परिचय भयो। उनले सोधे," के कामको लागि शहर आयौ त बाबु? आमाबालाई छोडेर, जन्मघर छोडेर?"। लाग्दै थियो ती होटल मालिक अर्थात् ती बुढामान्छे अर्थात् पर्सुराम काका जानीजानी गफ लडाइरहेका थिए म सँग। उनको होटलमा के म पहिलो व्यक्ति थिए जो जन्मघर छोडेर आएको हुन्छ? "बिदेश जान" म बोले। बुढाले धेरै कुरा गरे र मलाई नेपालमै बसेर केही गर्न प्रेरित गरे। " यहाँ के काम पाइन्च र काका? पैसा पनि त धेरै हुँदैन फेरी यहाँ, रिन छ। आमा बुढी छिन्। छिट्टै पैसा पठाउन पर्च। " मैले आखाँका पानीलाई हावासँग मिलन गराउँदै भने। " हेर बाबु, तिमी मलाई सोझो, इमान्दार, प्यारो, धर्मकर्ममा ख्याल राख्ने र ज्ञानी लाग्यो। छलकपट नगर्ने मान्छे बिदेशमा सार्है रगटिनु पर्छ रे। तिमीलाई बिदेश फाप्दैन, नजाउ। तिमीसँग यत्तिकै गफ गर्न आको होइन म, बिदेशमा पाउने तलव म यहीँ दिँउला। तिम्रो काम सधैं उठेर पूजा गर्ने, सरसफाइ गर्ने र दिउँसो ग्राहक बोलाउने।" मैले केहि अरु सोचिन," तलब कति दिनुहुन्च? " फ्याट्ट बोले म। पर्सुराम काकाले भने," रिन ल्याको पैसा घर पठाइदेउ, काममा लाग, जे चाहिन्छ तिमीलाई, सिधै भन्नु, पैसाको चिन्ता नगर्नु। कति पैसा ल्याको छौ?" 
"दुई लाख" भन्न नभ्याउदै मजाकी स्वरमा काका बोले " प्लेन बाट बाटैमा ओर्लिने बिचार छ क्याहो कान्छा?" उन्को आशय मैले सकारात्मक र नकरात्मक दूई किसिमले नै बुझेँ। " काम सिक १-२ महिना राम्रोसँग "भनेर काका हिँडे। एकैछिन मै काकालाई भेटेर काम गर्न राजी भएको कुरा सुनाएर आमालाई रिन ल्याको पैसा फिर्ता पठाइदिनका निम्ती सहयोग मागे। 
काम सुरु गरे होटलमा, त्यही एकदिन गरेको पूजाले गर्दा मलाई राखेको कुरा काका बताइरहन्थे। भगवान्सँग विश्वास झन् बढेर आएको थियो। काकालाई चाहिँ मेरो पूजाले कसरी आकर्षण गरेको हो भन्ने कुरा मैले अहिले सम्म बुझेको छैन।

काम एकदम सजिलो थियो मेरो। नुहाईधुवाइ गरेर पुजापाठ गर्ने। होटलमा पूरा सरसफाईको ख्याल राख्ने, ग्राहकलाई मीठो बोलेर स्वागत गरी कोठासम्म पूर्याइदिने, बाँकी कामहरू अरुले नै गर्थे। एकमहिना बित्यो। सुरुकै महिना काकाले मलाई घरमा पठाउन भनेर ३६७०० रूपैँया दिए। अझ राम्रो काम गर पैसाको चिन्ता नगर भनेर भने काकाले। इमान्दार भए त बिदेशै जान पर्ने रहेनछ भन्ने सोच्न थाले म।होटलमै बानी पर्न थाल्यो। महिनामहिनामा गरेर करिब ६ महिनामा ३ लाखजति घर पठाएको थिए। अब खुशीका दिन फर्किए मेरा भन्ने लागेर आयो। होटलमा सबैभन्दा खुशी त्यो दिन भए, जुनदिन आफ्नो जन्मदिन मनाउन भनेर ठ्याक्कै जून जस्ति एउटी परी आई। त्यतीबेला त मेरो पनि बढुवा भइसकेको थियो। होटलको खातामा भन्दा मेरो दिमाखमा प्रत्येक ग्राहक को हिसाब-किताब क्लियर भएको थाहा पाएर काकाले मेरो भाको लेखापढी र हिसाब-किताब को परीक्षा लिएर मलाई काउन्टरमा बसाएका थिए। उसको नाम नै एन्जल, साचैँ परीजस्ती थिई। १६ बर्ष लागिकी रैछ त्यो दिन्। उमेरपनि कस्तो मिल्ने रहेछ भनेर सोच्दै थिए। ठ्याक्क एउटा ग्राहक आए। बेलुका मात्र थाहा पाए, त्यो दिन पहिलोपटक होटलमा मेरो हिसाब-किताब मा गलत भयको थियो। कारोबार भन्दा ५०० कमी रैछ। काकाले "ख्याल गर। अब के भनुँ, अहिलेसम्म केही भन्नु परेको थिएन।" भने। म त्यो ५०० रुपैया भन्दा पनि एन्जलचाहीँ भोली फिर्ता आइदे हुन्थ्यो भन्दै कोठातिर गए।
अर्कोदिन दिउसो मेरो काउन्टर अगाडी अचानक एन्जल आइपुगी। खै के के बोल्दै थिइ, सत्य रामराम केही बुझेको भए त। उसले कडा स्वरमा भनी" ओई हिरो, हिसाब गर्न आउदैन भन्या?, के ट्वाल्ल परीरा के, हिजो ५०० बढी फिर्ता दिएछौ, राख " म त डराए। " अंकले गर्ने हिसाव मात्र आउंँछ मीस, मनले हिसाब गर्न सिकाउने मान्छे पाको छैन।" मैले उत्तर फर्काए। मुसुक्क हास्दै एन्जलले भनी," के भनेको? बुझिन"। "त्यसो भए हामी एउटै क्याटोगोरीको परेछौं" मैले फेरी बोले। काकाले सुन्नेगरी एन्जल हाँसी र भनी " पागल"
" ल ल म गए है, हाहाहाहा" मैले हात हल्लाएर बाई गरे। काका नजिकै आएर हाँस्दै मलाई भने " सज्जन नै थिइस पो भन्ठान्याथे त।"

मैले काकालाई भने," भन्नुहुन्छ नि त्यतिकै मिसले पनि, पागल हुने बेलै कहाँ भएको छ र मेरो, होइन त काका?" काकाले मुस्कुराएर भन्नुभयो, " बेला त भयो नि केटा "। " ह्या काका पनि" भनेर र काममै लागे। सत्यतामा एकैछिन् झुल्किएकी एन्जल झझल्को मा बढी थिई। बेलुका भयो उसलाई नै सम्झेर। ५०० रुपैया दिएर निन्द्रा पनि उसले आफ्नै नामको बनाइछे कि क्या हो। निदाएछु। विहान उठे।अघिल्लो दिनको सर्तमा परिवर्तन आएछ।अब बिपनामा एकैछिन् झुल्किएकी एन्जल सपनामा बढी थिई। सधैको जस्तै दिन सुरू भयो मेरो, काम सुरु भयो मेरो, मात्र फरक के थ्यो भने अव ऊ पनि मै सँग थिई। 
दिउँसो साढे १२ बजे होटलका स्टाफको लन्च टाइमिंग थियो। प्राय काका र म सँगै खाना खान्थ्यौ। एककिसिमले भन्ने हो भने त्यो समय स्टाफलाई ब्रेकटाइम पनि थियो। काका र म खाना खान बस्यौं। " के हो अघिल्यै महिना आमालाई पैसाको सट्टा बुहारी पठाइदिने बिचार गरिस क्या हो? निकै फरक देख्दैछु त। मोहनी लगाई क्याहो तलाई त्यो नक्कली ले?" मैले आमालाई भेट्न मन लाको छ काका भनेर कुरो मोडे। काकाले "त्यसो भए पुगेर आइज न त, जे चाहिन्छ भन भनेको होइन? नुन खाको कुखुरा जस्तो झोक्रिएर बसेछस्। भोलि नै गएर एकहप्ता घर बसेर आइज। यहाँको टेन्सन नले, हेर्नलाई मान्छे छन् त्यतीबेर।" मैले एन्जललाई बिर्से एकछिन। माग्नै नसकेको बिदा पाको थिए। त्यो दिन एन्जल आउछे की भनेर पर्खे। ऊ आइने। अर्कोदिन घरतिर लागे।

घर पुग्ने बित्तिकै आमाछोरानै रोइयो, ६ महिनापछि त आँशु पनि आत्तिदै निस्किदो रहेछ। आमाले आफू धेरै खुशी भएको कुरा गरिन्। "रिन पनि लगाइनस्। घरको अवस्ता नि राम्रो बनाइस। यति सानैमा घर छोडिस्। मोटाएर आएचस।सार्है चिन्ता लाथ्यो, कति दु:ख पाउनेभइस बिदेसमा,केइ गर्न जानेछैनस् भनेर। मलाई खुशी बनाइस बाबु तैले।" आमा ले यस्तै भावना मिसिएका खुशीका कुरा गरिन्। अर्को दिनदेखि एक हप्ता चाहि मजाले बित्यो गाउँमा। जति सजिलो काम पाको भएनि घर भनेको के हो त्यो बेला थाहा पाए। त्यही पीर मिसिएका आँशु बगाउदै आमासँग बिदा मागेर फर्के सहर।
शहर पुग्ने बित्तिकै काकालाई भेटेसी एकछिन घरतिरका कुरा गरियो।" ल बल्ल फुर्तिलो भएर आएछ केटो।" काकाले भने। एकछिन हस्यौली ठट्यौली भयो। "म कोठा गएर फ्रेस भएर काममा लाग्छु काका" भनेर भने। काकाले "भोलिदेखि काम गरेस, आज आराम गर "भनेर भने। मनमनै काकालाई देउता हौ काका तिमी भन्दै कोठातिर लागे। काकाले फेरी भने," ए सुन् त, तेरी मिसले तलाई सोध्दै थिइ, आकि थिइ एकपटक, काउन्टरमा बस्ने ह्यानसम केटा खोइ अंकल भनेर। आज आउछस् भन्देको थिए, त आराम गर, आइ भने म बोलाउन पठाइदिन्छु।" म गदगद खुशी हुदै हुन्छ काका भनेर कोठातिर लागे।एकैछिनमा झ्याप्प निदाएछु। एकैपटक ढोकामा ढकढक आवाज आयो, आखा खोलेर फटाफट ढोका खोल्न गए। के को एन्जल आउथी र? साँझ परेछ झमक्कै,पूराना ग्राहक मेरो नाम लिएर आको रैछ, खाना खाने पनि बेला भाको थ्यो फेरी। त्यसैले बोलाउन आएछन्। एन्जललाई याद गर्ने बानी चाँही घर गएर आउदा हटेछ क्यारे, निद्रा जिउदै थियो। एकैछिन ती पूराना ग्राहकसँग कुरा गरेर सुते।
अर्को दिन यादमै नभएकी एन्जल टुप्लुक्क आइपुगी हाइ भन्दै। मुस्कानले जवाफ दिए र भने" सन्चै हुनुहुन्छ एन्जल मिस"। उसले अत्यालेर भनी" अरे!मेरो नाम कसरी थाहा पाको?" मैले उत्तर फर्काए " अस्ति बर्थ डे मा थाहा पाको।" ऊ हास्दै बोली" त्यसो भए राजालाई यहाँ बर्थडे मनाउन आउने सवको नाम थाहा हुन्छ?" मैले भने" सबै कहाँ रानीजस्ता हुन्छन् र मिस?" "हाहाहाहा कुरै गर्न सकिन्न यो ह्यान्समसँग त, एनिवए, कहिले आयौ घरदेखी?" मैले हिजो भनेर जवाफ फर्काए। उसले बिस्तारै भनी"तिमीसँग कुरा गर्न मन छ मलाइ धेरै,तिमी त सानै छौ, काम गर्न वसेछौ, तिम्रो कथा सुन्न मन छ।" ममाथि त्यस्तो उत्सुकता उसको? मलाई जस्तै उसलाइ पनि म मा इन्ट्रेस्ट बढेछ भन्ने सोचे र भने" मसँग कुरा गर्न दिउँसो १२:३० मा आउनु न, म नि फ्रि हुन्छु त्यतिखेर। " 
एन्जल: ए अँ साची, यहाँ महिनाभर विहान खाना खायो भने कति पर्छ?
म: महिनैभर खानेभए हजुरलाई दिनको साठ्ठी सम्म गर्दिउला नि।
एन्जल: तिमी देखेरै आउन मन लाग्छ।खाना नी मीठो लाग्यो यहाँको। ल यो १००० रुपैया एड्भान्स राख। भोलिदेखी सधै बिहान खाना खान्छु यहाँ म। मेरो घर अलि टाढा छ। एस एल सी पछि यतै बसेर पढ्या छु। यहीँ नजिकै बस्छु। बिहान कलेज छ। ड्रेस खोलेर आउंदा तिम्रो नी फ्री टाइम हुँदोरैछ। कुरा गर्दै सँगै खाँउला।
म: हाहाहा भइहाल्छ नि मिस्। ल बिल लिनुस्।
एन्जल बाई भनेर गइ। फेरी पुराना यादमा घिउ थप्दी उस्ले। पहिला भन्दा बढी याद आयो उसको।

अर्को दिन काकालाई अगाडिनै खाना खान भनेर म पर्खिरहे। अरुको लागि जे भएनी निरन्तर ग्राहकको लागि त्यो टाइम पनि ढोका खुल्लै हुन्थ्यो। १ बजेतिर एन्जल र मास्क लगाएकी एन्जल जस्तै अग्लि, गोरी र कुहिरा आखाँ भकी केटी त्यहाँ आए। भित्र आएपछि उसकी सँगिनीले मास्क खोली, ऊ पनी कम राम्री थिईन, एन्जल भन्दा। मैले अर्को कामदारलाई भने," ऐ खाना लगाइदेउ। मिसहरुलाई दूइटा" 
एन्जल: तीनवटा भन न हिरो, हामी तिमीसँगै खाने हो आज।
म: हाहाहाहा, ल ल। हुन्छ हजुर। 
हामी सँगै खाना खान बस्यौं। उसले एकैछिन आफ्नै कलेजका रमाइला कुरा गरी। उसकी साथीचाही केही बोलिन, खालि मुस्कुरारहन्थी।
मैले सोधे," मिसको साथीचाही कस्तो लाटी, बोल्नु नै हुन्न रहेछ।"
एन्जल: ए अँ त। भन्नै बिर्सिराको।तिमीलाई मनको हिसाव गर्न सिकाउन मान्छे ल्याइदेको छु।
म:ह्या मिस पनि
एन्जलले त्यस्तो भन्दापनि उसको मुहारको चम्किलोपना कही गएको थिएन। एक शव्द नवोल्ने उ, मुस्कुराइरही।
एन्जल:यो मेरी प्यारी वहिनी। १० मा पढ्छे। कोचिंग चल्दैछ यस्को नि बिहान। यो नि मै सँग खाना खान आउँछे सधै। ए अँ साँची मलाई तिम्रो स्टोरी भन न।
मैले सुरु गरे मेरो कथा, सुरु देखी बा को मृत्यु सम्म कथा भन्दा खाना खाएर ब्रेक सकिने बेला भइसकेथ्यो। बाकी अर्कोदिन भनौला भने। 
एन्जल:( ओठमा मुस्कानको चुस्की लगाउँदै) ईन्ट्रेस्टिङ्ग। मज्जा लाग्यो तिम्रो कथा सुन्न। भोलिको प्रतिक्षा लामो पर्ने भो मलाई।
उता उसकी वहिनी चाही मेरो कथाले गर्दा आखाभरी आँशु पारेर घुक्क घुक्क रुदैरैछे। दिमाख र मनको फरक बल्ल थाहा पाए। एन्जल सँग मेरो कथालाई राम्रो भनेर मलाइ खुशी बनाउने दिमाख थियो। उसकी बहिनीसँग मेरो कथालाई बुझेर त्यसलाई फिल गर्न सक्ने मन। आकर्षण र प्रेमको पनि फरक थाहा पाए अव। एन्जल सँग म आकर्षित भएको रहेछु। उसको बहिनी सँग प्रेम भयो मलाई। एकैछिन एन्जलले फकाएपछि रुन बन्द गरी उसले। जाने बेला भो उनीहरुको। मैले सोधे" रुन्ची मिसको नाम चाहिँ के नि?"
खै कहाँ-कहाँ, कता कता सुनेजस्तो, अद्वितीय, सुरिलो स्वर मा एन्जलकी वहिनी बोली " परिक्षणा "

ठूलो सुनसान घरमा एक्लै भएको बेलामा जस्तो उसको त्यो नामको प्रतिध्वनि गुञ्जिरह्यो। त्यो नाम कहिल्यै सुनेको थिइन मैले। कौतुहलता बढ्दै थियो, उसको नामको अर्थ बुझ्ने। निष्कर्ष निकाले, बाबुआमाले सायद दुइटै छोरीको नाम एउटै राख्न खोजेछन्। एउटीको नाम अंग्रेज़ीमा परी, अर्कीको नाम नेपालीमा परी। त्यतीसार्है कसैको दुखमा भावुक हुने मन भएर होला, साच्चै मलाई प्रेममा पार्न प्रफेक्ट थिई, नेपाली परी। त्यो भेटपछि अहिलेसम्म पनि मलाई परिक्षणा नै एन्जलभन्दा धेरै याद आउँछ। काकाले भने" अव म भन्दा ग्राहक प्यारो लाग्न लागेछ त तलाई, व्यापार गज्जव गर्लास जस्तो छ"। काका त यत्तिकै के के भनेर जिस्काइरहन्थे। होटलको ब्रेक सकिएको थियो। आफ्नै दैनिकीमा फेरी फर्के। परिक्षणा चाहिँ कहिले क्यालकुलेटरमा देखिन थाली, कहिले बिलमा। त्यस्तै यतैकतै भेटिन थाली, प्राय गरेर दिलमा। अव त डर पनि बढ्दै आको थ्यो, कतै उसको सामु पर्दा बोल्नै नसक्नेपो हो कि म भनेर। कौनसा उ आफै वोल्छे र? त्यती वेर बस्दा एउटा शव्द बोलेर गई। सपनामा परिक्षणाले एन्जल लाई बिस्थापन नै गरिछे। सँगै पनि लिएर आइन। एक्लै आई। त्यही मायालु अनुहार लिएर। मनभरी भरीएकी परिक्षणाको अनुहार कस्तो थियो, दिमाखले चित्रमा उतार्न सकेन।सायद उसको अनुहारको चित्र कोर्न सक्ने रेखाहरुको समीकरण मेरो गणितमा थिएन।
अर्को दिनपनि दूईजना आए, त्यस्तै भयो फेरी। सँगै खाना खान बसियो। एन्जल कथा सुन्न हतार भो भन्न थाली, अर्की चाही रुन तयार थिइ। हो, ऊसका आखाँ रसाइसकेका थिए कथा भन्नु भन्दा अगाडी नै। मैले सुरु गरे कथा भन्न । बीचबीचमा प्रश्न हरु गर्थी एन्जल। कति उत्सुकता जागेको उसलाई म मा। म अचम्म पर्थे। परिक्षणा चाहिँ रोइने त्यो दिन, तरपनि निकै भावुक देखिन्थिइ। मैले पनि दुइजनाकै अनुहारमा हेर्दै सोधें " खाली मेरै कुरा सुन्ने? तपाईहरु नि भन्नु न। आफ्नो घर परिवार को बारेमा, कटेको जिन्दगीको बारेमा। "
एन्जल परिक्षणातिर नजरको तिर हान्दै बोली," भनिहाल्नु हुन्छ नि तिम्रो मिसले, रातभर तिम्रै कुरा गरेर सुत्न दिएछैने क्यारे।" प्याट्ट पिट्दै परिक्षणाले भनी" त्यस्तो नभन् न, कथाको पो कुरा गरेथे त मैले" 
मैले भने" अरे किन लड्नुहुन्छ? जसले भने पनि एउटै त हुन्छन एउटै घरका कुरा"
अनि एन्जलले "भोलि हाम्रो पालो है त भनेर कुरा सकाई" खाना पनि पुगिसकिएको थियो।अन्तिम मा झोलावाट क्यामेरा झिकेर " तिम्रो फोटो खिच्छु ल "भनी। सवैको फोटो खिची। काकासँग पनि फोटो खिच्ने भनेर काकालाई पनि अर्को दिनदेखी सँगै खाना खाने बनाई, ठ्याक्कै साढे बाह्रमा आउदा अब काका पनि उही टेवलमा बसेर खाना खानेभए।त्यो दिनको बिदाईमा एउटा कुरा थपिएको थियो। त्यो कुरा परिक्षणाले बोलेको शब्द " जान्छु ल।" थियो।

अर्कोदिन परिक्षणा परिवर्तन भएर आकी थिइ। ऊ धेरै बोली त्यो दिन। आफ्नो परिवारको बारेमा कुरा सुनाए मलाई दुई जना नै मिलेर। एन्जलकी आमाले चाहीँ नजिकै रहेको पहाडमा भएको घर सम्हालेर बसेकी रहिछन्। बुबाचाहीँ दूबईमा राम्रो जागिर गर्दा रैछन। एन्जल आर्ट्स पढ्दै रैछे। परिक्षणा चाहीँ पढ्न राम्रो रहिछे। त्यसैले बाबाले पहिल्यै नर्सिंग ईन्ट्रान्स पढ्दै गर भनेर शहर राखेका रैछन्। तर उसले त्यस्तो कुनै क्लास लिईएकी रैनछे। हामी दिनदिनै नजीक हुदैगयौं। सधै नजिक बसेर भलाकुसारी गर्दागर्दै सिटको स्वरुप बद्लिएको थियो। एकातिर एन्जल हुन थालेकी थिई। अर्कोतिर म र परिक्षणा। परेवाको जोडी र मायाका नाममा अनेक भनेर जिस्क्याउथि एन्जल। हामी एक अर्काको अनुहार हेरेर मुस्कुराउँथ्यौ। प्रस्ताव विनाकै प्रेममा भुल्न शुरु भएका थियौं हामी। दिनदिनैको भेटले हामी राम्रो साथी भइसकेका त थियौं नै। परिक्षणा र मेरो प्रेमले पनि सामर्थ्य बिच्छ्याउदै थियो। कहिले देख्नेबित्तिकै आखाँ झिम्काएर प्रेम दर्शाउँथी, कहिले किस सिग्नल दिएर। कहिलेकाहीँ एन्जल नआउदा म त खुशी हुन्थे नै, ऊसको अनुहारमा नि म सँग कुरा गर्ने स्वतन्त्रता छाउँथ्यो।
यसै गरेर तीन महिना बित्यो। परिक्षणा नर्सिंग को क्लास सुरु गरेकी थिइ। एन्जलको ११ कक्षाको परीक्षा चलिरहेको थियो। एकदिन एन्जलले आफ्नो कलेज व्याग यहीँ राख्दिनु भनेर हिँडी। ब्याग काउन्टरमा राख्दिने क्रममा उसको झोलाको साइडको गोजीबाट एउटा ए-फोर पेपर रिपोर्ट खस्यो। मैले हेर्ने कुनै इच्छा राखेको थिइन त्यो के हो भनेर। तर पनि खै किन खोलेछु। कभर भरी मेरा तस्वीर थिए। ठूलाठूला। ठूलो अक्षरमा लेखिएको थियो। " रिसर्च अन ह्युमन राइट्स एन्ड चाइल्ड लेबर: अ केस स्टडि"। त्यो दिन थाहा पाए एन्जल कति मेरो भावनामा खेलेकी रैछ भन्ने कुरा। म मा बारबार इन्ट्रेस्ट देखाउनुको अर्थ पनि थाहा पाए। म सँगको फ्रेंडसिपको कारण पनि मैले पहिल्याएँ। मेरो कथा सुन्दा आउने उसको मुस्कानको चुस्कीको अर्थ थाहा पाएँ। झोलावाट झिकेको क्यामेराको अर्थ थाहा पाए। काकासँग सन्चो नभएको बहाना बनाएर कोठामा गए, बा मरेपछि सबैभन्दा ठूलो दु:खको दिन त्यो नै भयो मेरो। रोए धेरैवेर सम्म। उता एन्जल दिउसै आएर उसको झोला लगिसकेकी रहिछ।
अर्कोदिन म सँगै खाना खान राजी भइन। एन्जलले बोलाई खाना खान, मैले भने "हेर, तिमी खाऊ, हाम्रो हैसियत मिल्दैन।" परिक्षणा चाहिँ यो शव्दपछि रुदैँ बाहिर निस्की, पछिपछि एन्जल पनि। त्यो दिन फेरी भेट भएन हाम्रो। अर्को दिन म परिक्षणालाई चित्त नदुखोस भनेर मात्र होइन, एन्जललाई पनि मज्जाले भन्छु भनेर सँगै खान बसे। परिक्षणा मेरै अनुहार हेरेर रुन खोज्दै थिई। एन्जल बिस्तारै बोली" हिजो किन त्यस्तो गरेको?"
म: (खान लागेको गाँस प्लेटमै छोड्दै) तिमी पहिला भन, तिमीले मलाई साथी वनाको की साधन? मलाई किन त्यसरी प्रयोग गर्यौ? काकाले मलाई कहिले कामदार सम्झिनुभको जस्तो लाग्यो तिमलाई? 
 परिक्षणा: के भयो के तिमीलाई?
म: अनि तिमी? माया गर्थ्यौ होईन मलाई? किन भनेनौ यो सब कुरा?किन लुकायौ? तिमीलाई त थाहा थ्यो होला नि।
परिक्षणा रुन सुरु गरी
एन्जल: म तिमीलाई भन्ने वाला नै थिए। सरी है। मलाई माफ गर। मैले तिम्रो भावना सँग खेले। यस्तो कुराको संकेत पाको थिइन। फेरी हामी यस्तो नजिक हुन्थयौ भन्ने नि थाहा थिएन। मेरो सजाय मेरो बहिनीलाई नदेउ। प्लिज
परिक्षणा: के भयो के एक्कासी, तिमीलाइ मेरो कसम। भन 
म बोल्नै नपाउँदै एन्जलले "कोठामा गएर भन्छु, अहिले प्लिज नरो" भनेर भने। त्यो गाँठोमा स्वार्थी मित्रता मात्र होइन चोखो माया पनि बेरिएको थियो।तयसैले अर्कोपटक त्यस्तो नगर्ने सर्तमा एन्जलले मागेको क्षमाप्रति म सकारात्मक भए। सम्बन्ध धेरै बलियो बन्यो।

२ महिनापछि एकजना भलाद्मी गेस्ट आए। काका का पुराना साथी रहेछन्। उनको नाम हरिकिसोर रैछ। उनको आफ्नै कम्पनी रैछ अमेरिकामा। चारपाँच दिन बसेर गए। मेरो सेवा सार्है मन पराए उनले। जानेबेलामा दुईहजार टिप्स दिएर गए। एकहप्तापछि बेलुका काकासँग खान बसे। काकाले भने" आज हरिकिसोर ले फोन गरेको थियो। तैले मन जितिस रे। घरमा काम गर्ने मान्छे छैन अरे। अमेरिका जान्छस् भने लिन आउँछ रे। मैले हरिकिसोर सँग धेरै कुरा मागेको छु। उसले म सँग आज पहिलो पटक केही आस गरेको छ। मान्छे राम्रो छ। हुन्न भन्दैनस जस्तो लागेको छ।" मैले आमा र परिक्षणा लाई समझे एकछिन् र भने " कहिले बिदेस नजा भन्नुहुन्थ्यो काका, आज किन यस्तो भन्नुहुन्छ? आमाको पीर हुन्छ, परिक्षणा पनि के गर्छे काका म बिना। भो जान्न काका कहिँ। खुशी-खुशी बाचिराछु काका हजुरकै काखमा" 
काका:( मुस्कान सहित) व्यावहारिक कुरा गरिस् त, त्यो परिक्षणा त एन्जल को बहिनी होइन? त बहिनीतिर पो मोडिइस्?
म: दिदीतिर कहिलै हेरेकै थिइन हौ काका।।। 
त्यहीपनि सोच भनेर काका हिँडे। म कोठामा गएर धेरै बेर सोँचे।

अर्को दिन बिहानै काकालाई आफू नजाने कन्फर्मेसन दिए। काकाले "कस्तो माया गरेको तैले? अमेरिकाले पनि तान्न सकेनछ तलाई परीले भन्दा, माया आफ्नो ठाउँमा छ बाबु, जिन्दगी उतै गएर सुखमय हुन्छ तेरो। माया माया नभन्। पछि पनि के हुन्छ र? चाहेको बेलामा फर्किन मिलीहाल्छ। लेख्न पढ्न जानेकै छस्। चिठ्ठी पत्र भइगाल्छ नि।" मैले बीचमै कुरा थपे, " म जान्न काका, हुदैन त्यस्तो, दूरी बढ्दा माया बढ्ने कथा र हाम्रो मायामा फरक छ काका। म उता रुदै हुन्छु, उसले त म जाने मात्रै भनेर भनेपनि आत्महत्या गर्न बेर लगाउदिन। ऊ सार्है नरम छे काका। म पनि कम माया गर्दिन ऊसलाई। म झन कसरी बाँच्नु काका ऊ बिना। मलाई जिउँदो लास बनाएर किन गरेको धर्मलाई पापमा परिणत गर्दै हुनुहुन्छ?" कतिखेर आँसु खसेछ पत्तै पाएनछु। " यति बुढो भएर नि रुन्छस्? जानु मन छैन भने नजा। भइगो। फ्रेस भएर काममा लाग्। म हरिकिसोरलाई भनौंला। " काकाले मेरो काँधमा हात राख्दै भने। एकछिनमा एन्जल र परिक्षणा आए, कुरा गर्दै, रमाइलो गर्दै खाना खाइयो।
यस्तै माया मै हाम्रो समय गुज्रियो। काकाले कहिल्यै मलाई केहिकुराको कमि हुन दिएनन्। एउटा कुरा प्लस प्वाइंट भाको थियो त्यसपछिको ३ बर्षमा, एन्जल व्याच्लर्स पढ्न थालिसकेकी थिई, परिक्षणा नर्सिंग सकाएर लाइसेन्सको लागि तयारि गर्दै थिई, यी त नियमीत कुरा नै थिए। प्लस भएको कुरा चाहिँ काकाकै जिद्दिमा मैले एघार कक्षाको परीक्षा दिएको थिए। माया अझ गाढा भएको थियो। आफु लाइसेन्स निकालेर जागिर खाएपछि म सँग विहे गर्छु भनेकी थिई परिक्षणाले। मैले " तिम्रो कमाई खानु म? " भनेर सोध्दा " तिम्रो रे? हाम्रो भनेर भन न" भन्थि। ऊता आमालाई नि पैसा पठाइरहेकै थिए। बीचमा दूईपटक परिक्षणाहरु पनि घर गएको बेलामा म पनि आमालाई भेट्न घर गएको थिए।
सधैजस्तै खाना खान बस्यौ। एउटा चिठी निकाली एन्जलले। उसकी आमाले पठाकी रहिछन्। बाबा आउदैहुनुहुन्छ तिमीहरुको एकदुई दिन भित्रै भनेर। दूबै खुशी देखिन्थे। मलाई उनीहरु एकदूईदिन भित्रै केहि समयका लागि घर जाने कुरा बताए।अलि धेरै समय बाबा सँग बिताउने कुरा गरे ऊनीहरूले म पनि काकालाई भनेर एकहप्ता आमालाई भेट्न जान्छु भने। काका भगवान नै थिए। एकैचोटीमै मलाई काकाले अनुमती दिए। अर्को दिन म पनि घर तिर लागे। आमा खुशीले रनफनिनीन्थिन्। म झन खुशीले पागल हुन्थे आमालाई देख्दा। तर चक्र दोहोरिन्थ्यो पूरानै। फेरी एकहप्तामै होटल पुगे आमालाई एक्लै छोडेर। एक महिनापछि परिक्षणा त्यहाँ आईपुगी। ऊ एक्लै थिई। समय पनि नियमित भन्दा फरक थियो। मलाई हेर्दा पनि हेरिन उसले। नजिकै गएर हात समात्न खोज्दा चड्कन हानी उसले मलाई। म कराए। उ त्यहाँबाट हिँडी। बेलुका काकाले मलाई सम्झाए," हेर्। पागल नबन्। परिक्षणा भनेर जस्को पायो त्यस्को हात समात्न जान्छस तँ। त्यस्तो राम्रो होइन। बाबा सँग रमाउदै होली, धेरै सालपछि बाबा आएका छन्। आउली नि। धैर्यता राख्। " काकाले यसरि सम्झाउँदा सम्झाउँदै मेरो धैर्यताले सिमा काट्यो। म रुन बाहेक केही गर्न नसक्ने भए। कारणैबिना केही नभनी छोडेर गई परिक्षणा मलाई। परिक्षणाको अर्थ पनि ठम्याउन थाले मैले। क्षण की परी।परिक्षणा।
दुईबर्ष बित्यो। परिक्षणा आईने। अब त अलिअलि बाँच्न सिकिसकेको थिए। पहिला जस्दो याद आउन छोडेकी थिई परिक्षणा। त्यहिपनि त्यो ठाउँ हेरेर दिक्क लाग्न थालेको थ्यो। हरेक दिनको साढे बाह्र बजे म ऊसकै आगमनको प्रतिक्षा गर्थे। मायामा परेपछि प्रतिक्षाको मज्जा बेग्लै हुन्छ भन्नेहरुले कहिलै आफूले जस्तो पिँडा भोग्नु नपरोस् भन्दै कोठातिर गएर रुन्थे। सकेसम्म त्यहा नवस्ने निर्णय गरे। काकालाई हरिकिसोरलाई सोधेर बुझ्न भने। कुरा सकरात्मक नै भएछ। आमालाई एकपटक सबै कुरा भन्छु र बिदाई भएर आउँछु भनेर गाउँ गए। आमा त बिरामी रहिछिन। सामान्य ज्वरो थियो। खै कसरी हो थाहा भएन। मलाई आमाले पनि एक्लै बनाइन। बा र परिक्षणाले त छोडेर गएका थिएनै। आमाले पनि मलाई छोडेर गइन्। बिधीअनुसार सबै काम सकाएर फर्के सहर। काकाले कुरो बुझेछन्। सवैको जिन्दगीमा यस्तो पर्छ बाबु भन्दै अंगालो हाले। मेरा एऊटै आफन्ती अब काका थिए। उनको काँधमा म धेरैबेर रोईरहे। एकपल बस्न मन थिएन अब त झन्। हरिकिसोर पनि केही दिनमै आइपुगे। सबै कुरा रेडी भएपछि हामी अर्कोदिन नै अमेरिका जाने भयौं। बिदाईका वेलामा काका पनि अस्याद्धै रोए।
अमेरिकाको न्यू यॉर्क सिटीमा रातलाई रात भन्न लाज लाग्छ। यहाँ मैले जति सानो काम गरेपनि कसैलाई फरक पर्दो रहेनछ। मज्जाको ठाउँ रहेछ। कहिल्यै नदेखेका कुराहरू देखे। मेरो काम हरिकिसोर को घरमा सरसफाई गर्ने, पूजा गर्ने र खाना बनाउनेहो अहिले, ऊनलाई चाहिँ म अंकल भन्छु। अंकलको ठूलो कम्पनि छ। कम्पनिमा धेरै कामदार पनि छन् रे। अंकल लाई नेपाली खाना खान मन पर्छ। ऊनले मलाई काकाले भन्दा कम माया गर्दैनन्। मैले न्यू यॉर्क आएर आफूलाई भाग्यमानि ठानेको थिए। आमा हुँदाहुदै म यहाँ आको भए आमा कति खुशी हुन्थिन होला भनेर कहिलेकाहीँ पश्चाताप हुन्थ्यो।
हिजो विहान बेहोस भएर अंकलको घरमा पल्टिएछु। आज बिहान होस खुलेछ। होस खुल्दा एउटा हात मेरो निधारमा राखेर मेरो छेउमा हुक्क हुक्क नर्स रुदैथिई। परिक्षणा झन राम्री भएकी थिइ। बिवाहित परिक्षणाले मेरो होस खुल्ने बित्तिकै मलाई जोडसँग अंगालो हाली। एकछिन त आँशुको सागर नै बग्यो। मैले कति छिटै ऊसलाई माफ गरेछु। मलाई उसले सोधी," कसरि आईपुग्यौ?" सबै उत्तर दिए मैले। उसले फेरि भनी " मलाई सोध्दैनौ? म कसरि आए भनेर?"!! मैले "अब के मतलव हुन्छ र परिक्षणा? भन न कसरि आयौ? " उसको मन राख्न सोधे। उसका बाबाले उनीहरूको बिहे गर्दिएछन्। दुबैका श्रीमानहरू अमेरिकाको पि आर वाला रहेछन। एन्जलको श्रीमान इनजिनियर रैछन्। भन्दै थिई यिनै कुराहरू परिक्षणाले। म एककोहोरो सुन्दै थिए। अंकल पनि त्यही थिए। " गट टु गो होम बेबी, लेट्स गो। " भन्दै एक बरिष्ट डाक्टर आए। बाई पनि भन्न पाइने परिक्षणाले आज मलाई। उ गई। म हस्पिटलमा भएको बल्ल चाल पाए। अब फेरी यी आँशु थामिएनन्। काका कै काख प्यारो थ्यो मलाई। न्यू यॉर्क भन्दा आफ्नै भुमी प्यारो थियो मलाई।
समाप्त!!!!!