नेपाल एक भुपरिबेष्ठित राष्ट्र हो। यो दुई विशाल छिमेकि
भारत र चीनको बीचमा एक जटिल भौगोलिक अवस्थाका साथ अवस्थित छ। यसै कारणले गर्दा
नेपाललाई दुई ढुङ्गा बीचको तरुल भन्ने पनि धेरै छन्। आज भन्दा सय बर्ष अगाडि
हाम्रा पुर्खाहरुले कल्पना गरेको समृद्धिको चाहानालाई अझ पनि हामीले साकार रुप दिन
सकेका छैनौं। भन्न मन नुहुँदा-नहुँदै पनि दुःखका साथ भन्नै पर्ने हुन्छ अझ पनि
नेपाल विश्वका अति कम विकसित राष्ट्रहरु मध्ये एक हो। तसर्थ समृद्ध नेपाल निर्माणको चहानालाई
सार्थकतामा परिणत गर्न यसमा रहेका समास्याहरुलाई पहिल्याउनु आवश्यक छ।
१. अदुरदर्शी राजनीतिक नेतृत्व
२. राजनीतिक अस्थिरता
३. भ्रष्ट कर्मचारितन्त्र
४. भौगोलिक जटिलता
माथि उल्लेखित समस्याहरुको समाधान नै समृद्ध नेपाल
निर्माणको प्रमुख चुनौति हो। यसका लागि सबभन्दा पहिले हाम्रो राजनीति र कर्मचारितन्त्रमा
जुन किसिमको मनोविज्ञान विकास भएको छ, त्यसको परिवर्तन हुनु जरुरि छ। यो नै समृद्ध
नेपाल निर्माणको पहिलो खुड्किलो हो। राजनीतिलाई कमाइ खाने भाँडोको रुपमा प्रयोग
नगरि यसलाई लोक कल्याणको अस्त्रको रुपमा प्रयोग गरिनु पर्छ। तसर्थ अब नेपालमा
स्थापित हुन चाहाने जुनसुकै राजनीतिक शक्ति पनि गत भाद्र २२ मा कान्तिपुर दैनिकमा
प्रकाशित रविन्द्र मिश्रको "नयाँ शक्तिका चार खम्बा" शीर्षक आलेखमा
उल्लेख भए अनुसार निम्न चार विषयमा आधारित हुनु पर्छ।
१. पद्धति (सिस्टम)
२. पारदर्शिता (ट्रान्सपरेन्सी)
३. इमानदारी (अनेस्टि)
४. उत्कृष्टता (मेरिटोक्रेसी)
यसका लागि नेपालमा विद्यमान राजनीतिक दलहरुले आफूलाई माथिका
चार बिषयहरु देखिने गरि परिवर्तन गर्न सक्नु पर्छ, नत्र माथिका चार विषयलाई
आत्मसाथ गर्ने नयाँ राजनीतिक शक्तिको जन्म अवस्यभावी छ। नयाँ संविधानको जारि
पश्चात सङ्क्रमणकालको अन्त्य भई राजनीतिक स्थिरता कायम हुने नेपाली जनताको
चाहानामा तुसरापात भएको छ। राजनीतिक समस्याको समाधान विन-विनको अवस्था कायम गरि
छिटो भन्दा छिटो समाधान गरि राजनीतिक स्थिरता कायम गरिनुपर्छ। कर्मचारितन्त्रमा
वयाप्त भ्रष्टचारलाई निर्मूल पार्न भ्रष्टचार गर्ने कर्मचारिलाई कडा भन्दा कडा
कारबाहि र राम्रो काम गर्ने कर्मचारिलाई पुरस्कृत गर्ने व्यवस्था जरुरि छ। देशको
जटिल भौगोलिक अवस्थालाई मध्यनजर गरेर योजनाहरुको निर्माण गर्नुपर्छ। नेपाल
भुपरिबेष्ठित देश भएको कुरालाई दृष्टिगत गरि अन्तराष्ट्रिय ब्यापारलाई कुनै एक
देशसँग मात्र सीमित नगरि सकेसम्म धेरै देशसँग ब्यापारको पहुँच विस्तार गर्नुपर्छ।
यसका सथै समृद्ध नेपाल निर्माणका आधार स्तम्भ निम्न कुराहरु हुन सक्छन्।
१. शिक्षा र स्वास्थ्यमा लगानी
२. उर्जामा लगानी
३. पर्यटनको विकास
४. पूर्वाधारको विकास
शिक्षा र स्वास्थ्यमा लगानी
स्वस्थ र शिक्षित नेपाली नै समृद्ध नेपाल निर्माणका आधार
स्तम्भ हुन्। नेपालमा अझ पनि यस्ता ठाउँहरु छन् जहाँका बालबालिकाहरु शिक्षा
स्वास्थ्य जस्ता सुबिधाहरुबाट बञ्चित छन्। यातायात, स्वास्थ्य र शिक्षा जस्ता
अवसरहरुका लागि सुगम मानिने रौतहट र महोत्तरि जस्ता तराईका जिल्लाको मानव विकास
सुचकाङ्क बिकट कर्णालीको जस्तै रहेको छ। यि जिल्लाहरुमा अशिक्षा र गरिबीको दर चरम
रुपमा रहेको छ। यस्ता ठाउँहरुमा चेतना अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुका साथै
स्वास्थ्य र शिक्क्षाको महत्व बुझाउनु आवश्यक छ। समष्टिगत रुपमा हेर्दा नेपाल
सरकार शिक्षा मन्त्रालयको प्रतिवेदन-२०१५ अनुसार साक्षरता दर ६५.९४ प्रतिशत रहेको छ। जसमा
महिलाको साक्षरता ५७.४ प्रतिशत र पुरुषको ७५.१ प्रतिशत रहेको छ। यसलाई हेर्दा महिलाको
साक्षरता दर पुरुषको भन्दा निकै कम देखिन्छ। तसर्थ महिला सशक्तिकरणमा जोड दिनुका
साथै स्वास्थ्य र शिक्षाका क्षेत्रमा रहेका बेतिथि र बिसङ्गतिहरुलाई अन्त्य गर्न
कडा भन्दा कडा कार्य योजनाहरु बनाई तिनीहरुको ठोस कार्यान्वयन हुनु आवश्यक छ। निरक्षरतालाई
निर्मूल पार्न यस आर्थिक वर्षमा सरकारले शिक्षाका लागि छुट्याएको बजेट ९८.६४ अर्बलाई बढाएर लगभग दोब्बर
गरेर त्यसको चित रुपमा दुर्गमका गरिब बालबालिकाहरुसम्म शिक्षाको पहुँच बिस्तार
गर्न र शिक्षाको गुणस्तर विकासका लागि खर्च गर्नु पर्छ। यसका साथै स्वस्थ्यको
क्षेत्रमा पनि लगानी बृद्धि गरि तल्लो स्तरका जनातासम्म गुणस्तरीय स्वास्थ्य सेवा
विस्तार गर्नु पर्छ।
उर्जामा लगानी
नेपाल जलस्रोतका दृष्टिले विश्वमा दोस्रो ठूलो देश हो।
तथापि जलबिधुतमा उचित लगानीको अभाबमा हामी दैनिक चरम लोडसेडिङको मारमा छौ। नेपाल
बिधुत प्राधिकरणको बार्षिक प्रतिवेदन-२०१५ का अनुसार २०१४/१५ को अधिकतम बिधुत माग
१२८६.१ मेगा वाट रहेको छ। जम्मा जडित बिधुत उत्पादन क्षमता जलबिधुत, थर्मल प्लान्ट
र सौर्य उर्जा गरि ७८७.०८७ मेगा वाट रहेको छ। यो पनि वर्षा याममा पुरा क्षमतामा
मेसिनहरु चलेको बेलामा उत्पादन हुने बिधुत हो। हिउँदको समयमा आधाभन्दा कम बिधुत
उत्पादन हुन्छ। यसका साथै १०४४.१ मेगा वाट क्षमताका विधुत आयोजनाहरु निर्माणाधिन अवस्थामा
छन्। हिउँदको समयमा लगभग आधा मात्र बिधुत उत्पादन हुन्छ। आउदो २०३३/३४ सम्मको लोड प्रक्षेपण यस
प्रकार रहेको छ।
चित्रः लोड प्रक्षेपण (स्रोतः नेपाल विधुत प्राधिकरण बार्षिक प्रतिबेदन-२०१५)
जलबिधुतको वर्तमान अवस्था, निर्माणाधिन आयोजनाहरु र लोड
प्रक्षेपणलाई आधार मान्दा अबको दस वर्षमा पनि लोडसेडिङ अन्त्य हुने अवस्था छैन।
वर्षा याममा लोडसेडिङ नभए पनि हिउँदमा हुन्छ-हुन्छ। प्राय जसो सबै (कुलेखानी
बाहेक) जलबिधुत आयोजनाहरु "रन अफ द रिभर" र केहि "पिकिङ रन अफ द
रिभर" प्रकारका छन्। यसप्रकारका आयोजनाहरु पानीको वहाबमा भर पर्ने हुनाले
हिउँदको समयमा ज्यादै कम बिधुत उत्पादन हुन्छ। तसर्थ जलासययुक्त आयोजनाहरुलाई
प्राथमिकताका साथ निर्माण गर्नु पर्छ। जलासययुक्त आयोजनाहरु निर्माण गर्न आवश्यक
बजेट स्वदेशमा नै जुटाउन केहि दिन अगाडि संसदको कृषि तथा जलस्रोत समितिले प्रस्तुत
गरेको मोडेल एक उपयुक्त विकल्प हुन सक्छ।
पर्यटनको विकास
नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश हो। विश्वमा
नेपाललाई बुद्धको देश, सगरमाथाको देश, मन्दिरको देश जस्ता उपनामले चिनिन्छ। तसर्थ
पर्यटनको विकास अवस्य नै समृद्धि तर्फको एक उपयुक्त बाटो हो। नेपाल पर्यटन
तथ्याङ्क-२०१२ अनुसार सन् २०१२ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या लगभग आठ लाख
थियो। पर्टनलाई आर्थिक समृद्धिको आधारमा परिणत गर्न कमसेकम यो संख्यालाई दोब्बर-तेब्बर
गर्नु पर्ने हुन्छ। जसका लागि आवश्यक पर्ने पूर्वाधारहरु जस्तै होटल-लजहरुको उचित
व्यवस्था, पर्यटकीय स्थलसम्म पुग्नका लागि बाटोको ब्यवस्था, पर्यटकीय स्थलहरुको
संरक्षण र उचित मर्मत संभार आदि कुराहरुको विकास गर्नु पर्छ।
पूर्वाधारको विकास
नेपालमा अझसम्म पनि यातायात
र बिजुलीको पहुँच नभएका ठाउँहरु थुप्रै छन्। सबभन्दा पहिले यस्ता ठाउँहरुमा
यातायात र बिजुलीको पहुँच बिस्तार गर्नु पर्छ। यसो हुदा यातायातको माध्यमबाट
स्थानिय स्तरमा उत्पादित सामानहरुले बजार पाउनुका साथै बिजुलीको उपलब्धता हुदा
स्थानीय स्तरमा स-साना घरेलु उधोगहरु खुल्न सक्छन् जुन समृद्धि तर्फको पाइला बन्न
सक्छ।
माथि उल्लेखित कुराहरुलाई ध्यानमा राखि योजनाहरु बनाएर
तिनीहरुको ठोस कार्यान्वयन तर्फ लाग्ने हो भने समृद्ध नेपालको हाम्रो चाहाना धेरै
टाढा छैन।
No comments:
Post a Comment